स्थानीय तह निर्वाचन

एक महानगर र दुई उपमहानगरमा ‘टप्दै’ स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १४ : २९
एक महानगर र दुई उपमहानगरमा ‘टप्दै’ स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह

काठमाडौं  । देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ ।वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् । 

अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत । बालेन सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । 

युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि पारेका छन् । र, उनले लगातार मतान्तर बढाउँदै लगेका छन् ।  

यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३ मत छ ।  स्थापितको १५९ र सिंहको १४८ मत छ ।  बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका । मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हीरा’ ले १ सय ५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मात्र छ । 

अग्रता लिइरहेका साह कांग्रेसका विद्रोही उम्मेदवार हुन् ।  पार्टीले उनलाई कारबाही गरिसकेको छ । तर, प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहँदा उनी अघि छन् । २०७४ सालको निर्वाचनमा उनी लालकिशोरको निकटतम प्रतिद्वन्द्वी थिए ।  जतिबेला लालकिशोर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । 

प्रदेश १ को धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिइरहेका छन् ।  वडा नम्बर–१ को १०० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ३३ मतसहित अग्रस्थानमा छन् ।

उनलाई ३१ मतसहित कांग्रेस–माओवादी गठबन्धनका किशोर राईले पछ्याइरहेका छन् । २०७४ मा निर्वाचन हुँदा एमालेका तारा सुब्बा निर्वाचित भएका थिए । उनको निधन भएपछि भने उपनिर्वाचन २०७६ मा भएको थियो । त्यसबेला तिलक राई निर्वाचित भए ।