जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनः निर्वाचन प्रक्रियामा निरन्तर सुधार

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १५ : १५
जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनः निर्वाचन प्रक्रियामा निरन्तर सुधार

काठमाडौँ । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय तहको निर्वाचन पूर्व गरेको पर्यवेक्षणका क्रममा छिटपुट घटनाबाहेक मनोनय दर्ता शान्तिपूर्ण रुपमा भएको जनाइएको छ । 

समितिले स्थानीय तह निर्वाचनका लागि ३० जिल्लाका २०० पालिकामा ४०० प्रतिनिधिमार्फत पर्यवेक्षण गरेको छ । राजनीतिक दल दर्ता, उम्मेदवारी दर्ता प्रक्रियादेखि मौन अवधि सुरु हुनु एक दिन अगाडिसम्मका सम्पूर्ण वस्तुस्थिति समावेश गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन आज सार्वजनिक गरिएको छ । 

राजनीतिक दल, उम्मेदवार र मतदातासमेत परिपक्व हुँदै गएको, एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवार शान्तिपूर्णरुपमा प्रचारप्रसारमा खटिइएको, दल तथा उम्मेदवारले एकआपसका विरुद्ध बल प्रयोग गरेको नदेखिएको आज सार्वजनिक निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ । 

राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको छ । पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था नपाइएको, प्रचारप्रसारमा विगतका निर्वाचनभन्दा संयमित भएको पाइएको तथा उम्मेवारी छनोटमा भएको असन्तुष्टिका कारण उम्मदेवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडप भएको पाइएको छ । 
    
निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजागाजा, ठूला ब्यानर र झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

निर्वाचन प्रचारप्रसारमा विगतजस्तो तुल, ब्यानरको प्रयोगमा कमी आएको भए पनि मत माग्न जाँदा दलीय गीत गाउने र माइकको चर्को स्वरका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन प्रक्रियामा उल्लेख्य सुधार हुँदै गएको महसुस गरिन थालिएको बताए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्ने उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण बनाउन सरोकारवालासँग आग्रह गरिन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी दर्तादेखि निर्वाचनपूर्वका समयमा आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको भए पनि सन्तोषजनक नभएको बताए । यसबीचमा आयोगले ६० बढी उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेकामा स्पष्टीकरण सोधेको जानकारी दिँदै उनले आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन कानुनअनुसार कारबाही हुने बताए ।