श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेद्वारा राजीनामा दिने तयारी

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १६ : ११
श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेद्वारा राजीनामा दिने तयारी

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा तयारी गरेका छन् । देशभर आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनी निकट श्रोतहरूले जनाएका छन् ।

राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजपाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामा दिन अत्यधिक दबाब परेको छ ।आन्दोलनकारीहरूले प्रधानमन्त्री महिन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन् । उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै जाने देखेर राजीनामा दिने तयारी गरेको बताइएको छ ।

आन्दोलन चर्किदै गएको र सङ्कटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री महिन्दा राजपाक्षे राजीनामा दिन सहमत भएको जनाइएको छ । देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महङ्गी र अभाव बढेको छ । महङ्गी र अभावबाट आक्रोशित जनताले आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनपछि सरकारले सङ्कटकाल लगाएको छ ।  यसअघि आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए ।प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सृजना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस