उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पाँच वर्षपछि भेटे आमालाई

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १५ : २९
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पाँच वर्षपछि भेटे आमालाई

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षपछि आफ्नी आमासँग भेट गरेका छन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पाँच वर्ष सत्ता चलाएका उनले दोस्रो कार्यकाल सम्हालेपछि आमासँग भेट गर्न पुगेका हुन्।

योगी मंगलबार आफ्नो पैतृक गाउँ पुगेका थिए। उनी हाल उत्तराखण्डको तीन दिने भ्रमणमा छन्। उनी आउने थाहा पाएपछि गाउँमा उत्सवको वातावरण बनेको थियो। उनी बिहीबार उत्तराखण्डको अलकनन्दा होटल राज्यलाई सुम्पिने कार्यक्रममा भाग लिन पुगेका हुन्।मुख्यमन्त्री योगीले भ्रमणको पहिलो दिन मंगलबारको रात बाल्यकालमा आफू हुर्किएको कोठामा बिताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

५ वर्षपछि आफ्नो छोरासँग भेटेर योगी आदित्यनाथकी ८४ वर्षीय आमा सावित्रीदेवी विष्ट भावुक बनेकी थिइन्। उनले खुट्टा छोएर आमाको आर्शीवाद लिएको तस्विरहरू सार्वजनिक भएका छन्। योगीलाई गाउँमा देखेपछि उनका आफन्तहरू गद्गद् भएका थिए।

योगीले मंगलबार आफ्नो पैतृक गाउँ यमकेश्वरको पंचूर पुगेर गुरु अवेधनाथको प्रतिमा अनावरण गरेका थिए। गोरखपुर मठका गुरु अवेधनाथबाटै योगीले आध्यात्मिक शिक्षा ग्रहण गरेका थिए। आफ्नो गुरुको विषयमा बोल्दै गर्दा उनी भावुक बनेका थिए।

योगी आदित्यनाथ युपीमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनी हालै दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। उनको पुरानो नाम अजय मोहन विष्ट हो।

 

प्रतिक्रिया दिनुहोस