७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न आयोगको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १४ : ४४
७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ ।

मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताए ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गिन र श्यामवेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताए ।

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ ।

बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यावसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गरे ।

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गरे । उनले निर्वाचनका क्रममा बारम्बार सोधिने प्रश्न, मतदान गर्ने सही तरिका, आचारसंहितासम्बन्धी ब्रोसर, साझेदार संस्थाबाट प्राप्त जानकारीमूलक पुस्तक, जनस्वास्थ्य मापदण्डको पालनासम्बन्धी पोष्टर आदि पठाइको जानकारी दिए ।

यही वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामा आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र वैशाख १७ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस