ठूलाबडा पार्टीले जनतासँग गठबन्धन भनेर मजाक गरेका छन् : राजेन्द्र महतो

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १३ : ४२
ठूलाबडा पार्टीले जनतासँग गठबन्धन भनेर मजाक गरेका छन् : राजेन्द्र महतो

काठमाडाैँ ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् ।नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप समेत लगाए । 

शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरे । देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाई थियो । 

उनले भने, ‘जनतासँग मजाक भईरहेको छ । यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होईन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ । यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आईरहेको छ ? सरकारी पार्टीहरुले जुन गठबन्धन गरेका छन, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो । देश र दुनियाँले के बुझ्ने हो ?' नेता महतोले दलीय सिम्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे । उनले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस