पोखरामा गठबन्धनको संयुक्त घोषणापत्र‚ प्राथमिकतामा विद्युतीय रेलदेखि सुरुङमार्गसम्म

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १८ : २०
पोखरामा गठबन्धनको संयुक्त घोषणापत्र‚ प्राथमिकतामा विद्युतीय रेलदेखि सुरुङमार्गसम्म

पोखरा । अघिल्लो चुनावमा पोखरा महानगरका मेयर उम्मेदवार मानबहादुर जीसीको घोषणापत्र बनाउने टिममा थिए, धनराज आचार्य । सोही निर्वाचनमा एमालेबाट जीसीले पोखरा महानगरको मेयरसमेत जितेका थिए । यसपल्ट धनराज स्वयं मेयरको उम्मेदवारमा उठेका छन् । माधव नेपालसँगै एमाले छाडेका उनले नेकपा (एकीकृत समाजवादी) को कोटामा मेयरको उम्मेदवार बन्ने अवसर पाए । उनले बिहीबार पोखरामा सत्तापक्षीय गठबन्धनको तर्फबाट संयुक्त घोषणापत्र सार्वजनिक गरे । 

पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको घोषणापत्र सार्वजनिक गर्दै उनले मेट्रोबाट फेवा(बेगनास जोड्ने योजना सुनाए । अघिल्लोपल्ट एमालेको घोषणापत्रमा जलमार्गबाट फेवा(बेगनास जोड्ने योजना थियो । कार्यक्रममा गएको चुनावमा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा भएका योजना पूरा नभएको सन्दर्भ जोडेर उनीतिर प्रश्न तेर्सियो । जवाफमा उनले भने, ‘अघिल्लो घोषणापत्रमा भएका योजना पूरा गरिदिएको भए त्यो पार्टी ९एमाले० छोड्नुपर्ने परिस्थिति बन्ने थिएन ।’

उनले पोखरा रिङरोड, मध्य पहाडी राजमार्ग र सिद्धार्थ राजमार्ग जोड्ने बाइपास रोड, फेवाताललाई जोगाउन बाइपास ढल, ल्यान्डफिल साइट व्यवस्थापन, बसपार्क निर्माण, पुरानो पोखराको संरक्षण, सेती नदीलाई सुन्दर बनाउनेलगायत योजना सार्वजनिक गरे । ‘समुन्नत पोखराको आधार स् सवल अर्थतन्त्र र पूर्वाधार’ नारा दिइएको उक्त संयुक्त घोषणापत्रमा समुन्नत पोखराका सात प्रस्थान विन्दु तय गरिएको छ ।

ग्रामीण इलाकासँग जोडेर ५ वटा ‘स्याटलाइट टाउन’, व्यस्त सडक तथा चोकमा आकासे पुल तथा अन्डरपासरबाइपास निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माण, स्वचालित ट्राफिक सिग्नल, ताललाई जोड्ने साइकल लेन, लेखनाथको लामेआहालमा निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि लेकसाइडसम्म सडकको दायाँबायाँ इलेक्ट्रिक ट्रेन, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्डरग्राउन्ड पार्किङ, अन्तर्राष्ट्रिय विमानस्थलबाट कोत्रे र मुस्ताङचोकसम्म फास्ट ट्र्याक, नमूना सुरुङमार्गलगायत योजना घोषणापत्रमा समेटिएका छन् ।

कार्यक्रममा उम्मेदवार आचार्यले गरिब, मध्यम वर्ग र उच्च वर्गको वर्गीकरण गरी सहुलियत कार्ड बनाउने बताए । पोखराको ढल फेवातालमा मिसाएर विगतका जनप्रतिनिधिले गल्ती गरेको भन्दै उनले त्यसलाई सुधारेर बाइपास ढल बनाउने प्रतिबद्धता जनाए । आफ्नो घोषणापत्रको शब्द(शब्दप्रति आफू उत्तरदायी भएको बताउँदै उनले कुनै हालतमा भ्रष्टाचार हुन नदिने उल्लेख गरे । कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले न्यायिक समितिमा आएका मुद्दा अदालतसम्म पुर्‍याउन नपर्ने वातावरण बनाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस