दिल्लीको तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि जाने !

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १५ : ३२
दिल्लीको तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि जाने !

काठमाडौं । करोडौं भारतीयले असहनीय तापलहर महसुस गरिरहेका छन् । यसको कारण जनजीवन र जिविका भताभुङ्ग हुन पुगेको छ । राहत मिल्ने कुनै छाँट पनि देखिँदैन । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राज्यका मुख्यमन्त्रीहरुलाई स्वाभाविक समयभन्दा पहिले नै यसपालि मुलुकभरि तापक्रम बढ्दै गइरहेको जानकारी दिएका छन् ।  भारत जलवायु विभाग (आइएमडी) ले यसैहप्ता मध्य र उत्तर–पश्चिमी भारतका अधिकांश भागमा अत्यधिक २ देखि ४ डिग्री सेल्सियस तापक्रम बढ्ने र त्यसपछि तापक्रममा त्यति ठूलो फेरबदल नहुने भविष्यवाणी गरेको छ । वास्तवमा विशेषगरी मे र जुन महिनामा भारतमा तापलहर चल्नु सामान्य मानिन्छ । तर यसपालि गर्मी अलि चाँडै सुरु भयो ।मार्चदेखि नै औसत अत्यधिक तापक्रम १ सय २२ वर्षको इतिहासकै सबैभन्दा उच्चतम विन्दुमा पुगेको छ । 

भारतको विज्ञान तथा वातावरण केन्द्रको एकजना बुद्धिजीवीले समय भन्दा पहिले नै आएको तापलहरले तुलनात्मक रुपमा सहज तापक्रम भएको मानिने उत्तरी राज्यको हिमाचल प्रदेश सहित करिव पन्ध्रवटा राज्य प्रभावित भएको बताएका छन् । यो साता राजधानी दिल्लीको तापक्रमले ४४ डिग्री सेल्सियस पार गर्ने अनुमान गरिएको छ ।  किसानहरुले अत्यधिक तापक्रमका कारण आफ्ना गहुँ वाली बिग्रेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस