रूसले युक्रेन युद्धमा आफ्नो विरोध गर्दै आएका पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द गरेको छ। रूसी ग्याँस कम्पनी गजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई बुधबारदेखि ग्याँस आपूर्ति बन्द गरेको जानकारी दिएको छ। रूस युरोपका लागि ग्याँसको प्रमुख आपूर्तिकर्ता हो।
२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेपछि रूसले पहिलोपटक पोल्याण्ड र बुल्गेरियाविरुद्ध यस्तो कदम चालेको हो। ती देशले रूसी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रूसले यो कदम चालेको हो।
युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरूले रूसमाथि कैयौँ प्रतिबन्ध लगाएका छन्। यस्तो प्रतिबन्धले रूसको मुद्रा रुबल कमजोर भएको छ। यस्तो अवस्थामा रूसले ग्याँस आपूर्तिका लागि रुबलमा भुक्तानी गर्न माग गरेको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका मित्र नरहेका देशहरूलाई बैंकमा खाता खोल्न र ग्याँस किन्न युरो वा डलरमा भुक्तानी गर्ने योजनामा सहमत हुनुपर्ने बताएका छन्। त्यस्तो मुद्रा स्वतः रुबलमा परिवर्तन हुनेछ।
यस्तो अवस्थामा रूसको विदेशी मुद्रा भण्डार पनि सुदृढ हुनेछ। गत हप्ता युरोपेली कमिशनले ईयूका कम्पनीहरूले प्रतिबन्धहरू उल्लङ्घन नगरी रुबलमा ग्याँसको भुक्तानी लिन रूसको मागमा सहमत हुन सक्ने बताएको थियो। पोल्याण्८ र बुल्गेरियाले यसलाई नमान्ने गरेका छन्।
पोल्याण्ड मस्कोको कट्टर राजनीतिक प्रतिद्वन्द्वी हो। पोलिश ग्याँस कम्पनी पीजीनिगले नयाँ भुक्तानी योजना पालना नगर्ने बताएको छ। पोल्यान्डका कम्पनी र रूसबीचको ग्याँस सम्झौता यस वर्षको अन्त्यमा सकिँदै छ। पोल्याण्डको कम्पनीले गत वर्ष गजप्रोमसँगको ग्याँस ट्रान्जिट सम्झौता विस्तार गरेको थिएन। त्यसयता रूसी ग्याँस प्रदायकले बेलारूसदेखि पोल्याण्डसम्मको यामल–युरोप पाइपलाइनमार्फत पाइपलाइन क्षमताका लागि लिलामीमा सहभागी हुनुपरेको थियो।
पोल्याण्डका कम्पनीले रूसी कम्पनी गजप्रोमसँग वार्षिक १० अर्ब २० करोड घनमिटर ग्याँस लिने सम्झौता गरेका छन्। यो पोल्याण्डको राष्ट्रिय खपतको लगभग ५०% हो।
गजप्रोमले बुल्गेरियाको सरकारी ग्याँस कम्पनी बुल्गारगाजलाई पनि बुधबारदेखि ग्याँस आपूर्ति बन्द गर्ने जानकारी दिएको ऊर्जा मन्त्रालयले बताएको छ। रूसी कम्पनीको बुल्गेरियासँगको सम्झौता पनि यसै वर्षको अन्त्यमा सकिँदै छ। बुल्गेरिया आफ्नो ग्याँस आवश्यकताको ९०% भन्दा ग्याँसका लागि रूसी कम्पनी गजप्रोममा निर्भर छ।
पोल्याण्डका सरकारी अधिकारीहरूले आफ्नो ग्याँस भण्डारण ७६% भरिएको जानकारी दिएको छ। यस्तो अवस्थामा गजप्रोमबाट आपूर्ति बन्द भएपछि पनि ग्राहकको आवश्यकता पूरा गर्न कुनै समस्या नहुने उसको भनाइ छ। अर्कोतर्फ बुल्गेरियाले पनि ग्याँस आपूर्तिको विकल्प खोजेको र र ग्याँस खपतमा कुनै प्रतिबन्ध आवश्यक नरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १६ : ३५
लेखकबाट थप