चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन आएका हुन् ।
सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् । त्यसपछि मेयरमा बागी उमेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर-७ स्थित पिपल चोक जाने छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताए । असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’
‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्काे राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’, उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे ।
‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ । नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ । सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने । चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्दौँ’, उनले भने ।
बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने बताए । स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा जवाफ दिँदै गृहमन्त्री
विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा, गृहमन्त्रीसँग भेटवार्ता
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षति धेरै हुन्छ : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक