स्थानीय तह निर्वाचन

गठबन्धनको निर्णयअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्न निर्देशन

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १३ : १२
गठबन्धनको निर्णयअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्न निर्देशन

file-photo

काठमाडौँ । सत्ता गठबन्धनले देशभरका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसरत गर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले देशभरका स्थानीय तहमा सकेसम्म सहमति गरेर गठबन्धनका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।

गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको विषयमा केन्द्रबाटै तालमेलको निर्णय गरेपनि नगरपालिका र गाउँपालिकाको हकमा भने देशभरि धेरै ठाउँमा गठबन्धन हुन नसकेको नेताहरुको भनाइ छ ।

नेताहरूले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आव्हान गरेका छन् । बैठकले देशभर उम्मेदवारको मनोनयन दर्ता गर्दा गठबन्धनको निर्णयअनुसार गर्न सबै दलका आ–आफ्ना संयन्त्रमार्फत् निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बैठकमा पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र कतै आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने, ‘जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ ', उनले भने ।

प्रतिक्रिया दिनुहोस