अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेका छन् ।
उक्त सैन्य प्याकेजमा भारी आर्टिलरी तथा १ लाख ४४ हजार गोलीगट्ठा पनि छन् । अनि युक्रेनकै लागि भनेर बनाइएका विशेष ड्रोनहरू पनि प्याकेजमा समावेश गरिएका छन् ।अमेरिकाले युक्रेनलाई अतिरिक्त आर्थिक सहायताका लागि थप ५० करोड डलर पनि दिनेछ ।
अर्को साता किएभलाई सैन्य सहायताका लागि थप रकम संसद्सँग माग्ने पनि बाइडनले बताए । त्यसका साथै रुससँग जोडिएका सबै जहाजलाई अमेरिकी बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा पनि बाइडनले गरेका छन् ।
अमेरिकाले युक्रेनी शरणार्थीहरूलाई स्वीकार गर्ने एक कार्यक्रम पनि शुरू गर्न लागेको छ । उक्त कार्यक्रमले युक्रेनीहरूलाई आप्रवासनका लागि छिटो प्रक्रिया चाल्न सहयोग गर्नेछ । त्यसबाहेक अमेरिकाले युक्रेनलाई सूचना दिएर समेत सहयोग गर्ने बाइडनको भनाइ छ ।
अमेरिकाले युक्रेनलाई अहिलेकै स्तरमा लामो समयसम्म सैन्य आपूर्ति दिन सक्ने तर सम्भव भएसम्म छिटो हतियार दिन खोजेको जानकारी पनि बाइडनले दिए । त्यसका साथै बाइडनले रुसलाई मरिउपोल तथा आजोभस्टाल कारखानाबाट सर्वसाधारणलाई सुरक्षित निकाल्नका लागि पहल गर्न आह्वान गरेका छन् । रुसले मरिउपोलमा पूर्ण नियन्त्रण कायम गरेको कुरामा उनले शंका व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ बैशाख २०७९, ११ : २६
लेखकबाट थप