रियल म्याड्रिड ला लिगाको उपाधि नजिक

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, ११ : १९
रियल म्याड्रिड ला लिगाको उपाधि नजिक

एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई ३–१ गोल अन्तरले हराउँदै ला लिगा जित्ने सम्भावना बलियो बनाएको हो ।

रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता छ । शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिलाई रियलले १७ अंकले पछि पारेको छ । एट्लेटिकोको ६१ अंक भने दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ ।

अब रियल र एट्लेटिको म्याड्रिले पाँच–पाँच खेल खेल्न बाँकी छ भने बार्सिलोनाले सात खेल खेल्न बाँकी छ । बाँकी सबै खेल एट्लेटिकोले जिते उसको ७६ अंक मात्रै हुन्छ । बार्सिलोनाले खेल्न बाँकी सबै खेल उसको जिते ८१ अंक पुग्ने छ ।

गएराति भएको खेलमा रियललाई सहज जित दिलाउनको लागि डेभिड अलाबा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले गोल गरे । यो सिजन उच्च लयमा रहेका करिम बेन्जेमाले दुई पेनाल्टी चुकेका थिए ।

खेलको १२औं मिनेटमा डेभिड अलाबाको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । १३औं मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४५औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको छटौं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस