काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश प्रणालीका पक्षमा आएको बताएका छन् । सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भई आफ्नो पदीय जिम्मेवारी सम्हाल्न पुगेका अधिकारीले प्रणालीका लागि सबैले काम गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
गभर्नर अधिकारीले बुधबार राष्ट्र बैंकमा पदीय जिम्मेवारी सम्हाल्न पुगेपछि आफ्नो पक्षमा आदेश दिने र बोलिदिनेहरूप्रति आभार व्यक्त गरेका थिए । अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै उनले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गरेका थिए । भोलिको दिनमा मैले पेस गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको छु,उनले भने, म एउटा माध्यम मात्रै हुँ, यो समग्र प्रणालीका लागि आएको आदेश हो । यहाँहरूले पनि प्रणालीको लागि नै बोलिराख्नुभएको छ ।
आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गरेर अगाडि बढ्ने गभर्नर अधिकारीको भनाइ थियो । जिम्मेवारी पूरा गर्ने क्रममा गर्नुपर्ने समन्वय पूरा गर्ने उनले बताए । हामी व्यक्तिभन्दा पनि संस्था हौं । गभर्नर, राष्ट्र बैंक, अर्थमन्त्रालय भनेको संस्था हो । विभिन्न घटना, परिघटनाले यस्ता स्थितिहरू ल्याउँछन् तर हामीले आफ्नो जिम्मेवारी पूरा गरिराख्दाखेरि गर्नुपर्ने समन्वय, सम्पर्क गर्छौं । त्यसमा कुनै किसिमको आग्रह र पूर्वाग्रह राखेर गर्नुपर्ने भन्ने छैन । हामी त्यसमा सतर्क रहन्छौं ।अधिकारीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा थप बोल्न चाहेनन् ।
गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै सरकारले छानबिन समिति गठन गरेको थियो । मन्त्रिपरिषद्ले पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरेपछि उनी निलम्बनमा परेका थिए । अर्थमन्त्री जनार्दन शर्मासँग गभर्नर अधिकारीको विवादपछि मन्त्रिपरिषद्ले उक्त समिति गठन गरेको थियो ।
आफूलाई निलम्बन गर्ने निर्णयविरुद्ध अधिकारी सर्वोच्च अदालत गएका थिए । उनको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त निवेदनमाथि बैशाख १३ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्न पेसी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त