चुनावअघि नै मल ल्याउन पहल

पत्रपत्रिकाबाट

बुधबार, ०७ बैशाख २०७९, ०८ : ०९
चुनावअघि नै मल ल्याउन पहल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले बताए ।

भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) मार्फत नेपाललाई मल दिने निश्चित गरेको उनले जानकारी दिए ।

मङ्गलबार भएको छलफलमा आरसीएफका पनि प्रतिनिधि थिए । भारतका आरसीएफ र नेपालका कृषि सामग्री कम्पनी लिमिटेडबीच पनि छुट्टै छलफल भएको छ । नेपाललाई पहिलो वर्ष दिइने मलमध्ये पहिलो लट चुनावअघि र दोस्रो लट असार १५ गते वरिपरि दिनका लागि आफूले भारतलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए । कति परिणाम, कुन बेला, युरिया र डीएपी कतिलगायतका विषयमा नेपाल–भारतबीच सम्झौता भएपछि मात्र मल आउने सहसचिव मिश्रले बताए ।

सक्दो चाँडो मल दिनका लागि आग्रह गरिएको छ, त्यसका लागि दुवै देशका कम्पनीबीच समन्वय भइरहेको र यो महिनाभित्र पहिलो लट मल आउने अपेक्षा गरिएको उनले बताए । मल दिने कम्पनी चयन भइसकेको र दुई कम्पनीबीच एउटा सम्झौतापत्रमा हस्ताक्षर भएपछि मल आउन सुरु हुने उनले बताए । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस