ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

रासस

मंगलबार, २९ चैत्र २०७८, १५ : १९
ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श गरे ।

भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले पु¥याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन् । उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन् ।

उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । मन्त्री भुसालले सन् २०३० सम्ममा दीगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन् ।

नेपालका लागि राजदूत नियुक्त भएकीमा बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन् । सो अवसरमा राजदूत वाइजरले अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी दिनमा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताइन् । उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत् ऊर्जा प्रयोग भएको बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराइन् ।

भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो । नेपाल र अष्ट्रियाबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । 

प्रतिक्रिया दिनुहोस