बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी

सोमबार, २८ चैत्र २०७८, ०७ : ४२
बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा  बार्सिलोनाले लेभान्टेलाई ३–२ गोल अन्तरको पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

लेभान्टेको घरेलु दैदानमा एक गोलले पछि परेपनि बार्सिलोनाले पुनरागमन गरेको थियो । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई सुरुआती अग्रता दिलाएका थिए ।बार्सिलोनाका लागि खेलको ५९ औं मिनेटमा पिएरे एम्रिक अबेमियाङले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

६३ औं मिनेटमा पेड्रिले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । गोन्जालो मेलेरोले खेलको ८३ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा लुक डी जोङले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए ।जितसँगै बार्सिलोनाले ३० खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । पराजित लेभान्टे २२ अंक जोडेर १९ औं स्थानमा छ ।