श्रीलंकाका राष्ट्रपतिले राजीनामा नदिने

एजेन्सी

विहीबार, २४ चैत्र २०७८, १२ : ०५
श्रीलंकाका राष्ट्रपतिले राजीनामा नदिने

कोलम्बो । आर्थिक संकटका कारण समस्यामा परेका श्रीलंकाका राष्ट्रपति गोतावाया राजपाक्षेले पदबाट राजीनामा नदिने भएका छन् । मुलुक अत्यन्तै नाजुक आर्थिक स्थितिमा पुगेपछि विपक्षी राजनीतिक समूह र नागरिकस्तरबाटै पनि राजपाक्षेलाई राजीनामा दिन दबाब आइरहेको छ । तर, उनको सरकारले संसद्लाई बुधबार राष्ट्रपतिले राजीनामा नदिने जानकारी दिएको छ ।

बुधबार सरकारको प्रमुख सचेतक जोह्नस्टन फर्नान्डोले विधायकहरूलाई भनेका छन्, ‘एक जिम्मेवार सरकारको हैसियतले हामी राष्ट्रपति गोतावाया राजपाक्षेले कुनै पनि हालतमा पदबाट राजीनामा दिने छैनन् भन्न चाहन्छौं ।’

दैनिक लामो समयसम्म भइरहेको विद्युत लोडसेडिङ, ग्यास, खाद्यान्न र अन्य आधारभूत वस्तुहरूको अभावका कारण जनताले सडकमा प्रदर्शन गरिरहेको थुप्रै साता भइसकेको छ । जनआक्रोश र दबाबका कारण मन्त्रीमण्डलका झण्डै सम्पूणर् मन्त्रीले राजीनामा दिनुका साथै थुप्रै विधायकले राजपाक्षेको सरकार छाडिसकेका छन् ।

अन्य विपक्षी विधायकहरूले पनि राष्ट्रिय मिलिजुली सरकार गठनका लागि उनले गरेको आमन्त्रण अस्वीकार गरेका छन् । बरु उनीहरूले मतदाताहरूले राष्ट्रपतिलगायत उनको सम्पूणर् सरकारले राजीनामा देओस् भन्ने चाहेको बताएका छन् । जनताको कडा प्रतिवाद र आक्रोशका कारण राजपाक्षेले मंगलबार मुलुकमा लागु गरिएको विवादास्पद संकटकाल हटाएका थिए ।