संसद् विघटन गर्ने इमरान खानको प्रस्ताव राष्ट्रपतिद्वारा स्वीकृत

एजेन्सी

आइतबार, २० चैत्र २०७८, १५ : ४९
संसद् विघटन गर्ने इमरान खानको प्रस्ताव राष्ट्रपतिद्वारा स्वीकृत

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रिय सभा विघटनलाई अनुमोदन गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिसलाई स्वीकार गरेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद् भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए । राष्ट्रियसभामा आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका थिए ।

आइतबार उक्त प्रस्तावमा मतदान हुनुअघि संसद्का उपसभामुख कासिम सुरीले यसलाई असंवैधानिक भन्दै खारेज गरेका थिए । उनले अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को उल्लङ्घन भएको जिकिर गरेका थिए ।

यसपछि देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यो देशको भविष्य तय गर्ने अधिकार अरू कसैलाई छैन, अब यहाँका जनताले यसको निर्णय गर्नेछन्।’

‘आज अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ, यसका लागि म सबैलाई बधाई दिन्छु । कसैले आत्तिनु पर्दैन,’ उनले थपे, ‘आज जसरी उपसभामुखले आफ्नो संवैधानिक शक्ति प्रयोग गरेर निर्णय लिए, त्यसपछि मैले संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’
बीबीसी

प्रतिक्रिया दिनुहोस