सत्तारुढ गठबन्धनलाई सत्तो सराप्दै आएका एमाले अध्यक्ष ओली राप्रपा सहितका दलसँग तालमेल गर्न सक्रिय

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, ११ : २३
सत्तारुढ गठबन्धनलाई सत्तो सराप्दै आएका एमाले अध्यक्ष ओली राप्रपा सहितका दलसँग तालमेल गर्न सक्रिय

काठमाडौं । ‘अहिले हेर्नुस् त, बिहान–बेलुकै बालुवाटार टुप्लुक–टुप्लुक पुगेका छन् । ‘यो गठबन्धन नटुटाऊँ, गठबन्धन बचाऊँ है’ भनिरहेका छन् । यो गठबन्धन तब सम्म रहन्छ, जबसम्म हामी यसलाई रहन दिन्छौँ,’ शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए।

ओलीले सत्तारुढ गठबन्धन भत्कियोस् भन्ने चाहन्छन्। ओलीले पटक पटक भन्ने गरेका छन् एक्ला एक्लै चुनाव लडौं। गठबन्धनलाई कतिपय अवस्थामा उनले ढकसँग समेत तुलना गरेका छन्।  एक्लै चुनाव लड्न आह्वान गर्ने ओली शुक्रबार भने गणतन्त्र र संघीयताको विपक्षमा रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भेट्न पुगे। उनले बिहीबार राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई नेपालगञ्जमा भटेका छन्। राणासँग ओलीले चुनावी तालमेलको प्रस्ताव समेत गरेका छन्।

राणा र ओलीबीच करिव तीन घण्टा छलफल भएको थियो। महामन्त्री राणाका अनुसार ओलीले तीनै तहका निर्वाचनमा तालमेल गरेर जान प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावको विषयमा पार्टीमा छलफल गर्ने उनले बताएका छन्।  उसो त अध्यक्ष ओलीले २०७४ को संघीय निर्वाचनमा समेत राप्रपा नेता राजेन्द्र लिङ्देनसँग तालमेल गरेका थिए। लिङ्देन ओलीको गृह जिल्ला झापाकै हुन्। अहिले उनी राप्रपाको अध्यक्ष छन्। 

एमालेले बाहिर भने आफू एक्लै चुनाव लड्ने बताउँदै आए पनि भित्र भित्र गठबन्धन भन्दा बाहिरका दलहरुलाई फकाउन थालेको छ। एमाले केन्द्रीय कमिटी बैठकले पनि एकलरुपमा निर्वाचनमा जाने निर्णय गरेको थियो। स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सोचमा एमाले रहेको छ। लोसपासँग पनि एमालेले गठबन्धनको प्रयास गरेको छ। निर्वाचनमा भाग नलिने तर प्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने विप्लव नेकपासँग पनि एमालेको सहकार्यको प्रयास रहेको नेकपाका एक नेता बताउँछन्।

एमालेले जितेका सिट बाँडफाँट !
सत्तारुढ गठबन्धनले भने गठबन्धन भन्दा बाहिरका दलसँग स्थानीयरुपमा समेत तालमेल नगर्ने औपचारिक निर्णय गरिसकेको छ।  गठबन्धनका कारण राष्ट्रिय सभा निर्वाचनमा हार व्यहोरेको एमाले स्थानीय तहमा हुन लागेको तालमेलका कारण दवावमा छ। राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले एमालेले जितेका सिट बाँडफाँट गरेको थियो। स्थानीय तह निर्वाचनमा पनि एमालेले जितेका सिट बाँडफाँट गर्ने मोडल अपनाउने मुडमा गठबन्धन छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यसअघि बसेको गठबन्धनको बैठकपछि राष्ट्रिय सभाको मोडलमा जान सकिने संकेत गरेका थिए। 

राष्ट्रिय सभाको मोडलमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँट गर्दा धेरै समस्या हल हुने गठबन्धनका एक नेता बताउँछन्। ‘हामीले तल्ला कमिटीदेखि नै रिपोर्ट मागेका छौं। अहिलेको अवस्थाको मूल्याङ्कन गर्न पनि भनेका छौं,’ ती नेताले भने, ‘राष्ट्रिय सभाको मोडल पनि एउटा विकल्प हो। यो मोडलले धेरै विवादको एकै पटक समाधान गर्छ।’ ओलीले गठबन्धन भत्काउन धेरै मेहेनत गर्न नपर्ने दाबी गर्दै आए पनि उनका लागि अब यो फलामको च्यूरा बनेको छ। गठबन्धनले काम गरेमा ओलीका लागि स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय सभाकै अवस्था आउन सक्ने स्थिति छ।

ओलीले गठबन्धनबारे कटाक्ष गर्दै एक कार्यक्रममा भनेका थिए ‘हामीले धेरै केही गर्नुपर्दैन, छ्यास्स हावा खोलिदिएपछि जान्छ।चारवटा चक्का फुकाल्नु पर्दैन, इन्जिन बन्द गर्नुपर्दैन।’तर उनले भनेको जस्तो सहज राजनीतिक अवस्था भने छैन।