'गेम चेन्जर’ बन्न सक्छ गठबन्धन

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १० : ४२
'गेम चेन्जर’ बन्न सक्छ गठबन्धन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरहबादुर देउवाले केही दिन अगाडि सार्वजनिकरुपमा नै भनेका थिए, ‘हार्नलाई प्रचण्ड चुनाव लड्दैनन्।’ उनले चुनावी गठबन्धन गर्नै पर्नेमा जोड दिँदै थपेका थिए, ‘कम्युनिस्टहरु मिले के गर्ने ? पहिला त्यस्तै भएको होइन।’तर कांग्रेसभित्र सभापति देउवा इतर समूह भने गठबन्धनको पक्षमा थिए। शेखर कोइराला समूह गठबन्धन गरेर सँधै अरुलाई चुनाव जिताउन नसकिने बताउँदै आएका थिए। शेखर समूहले कांग्रेसभित्र एकता कायम गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेको थियो। गठबन्धन गरेर अरु चिन्हमा भोट हाल्दा हाल्दा नयाँ मतदाताले रुख चिन्हनै विर्सने पो हुन् कि भन्ने सम्मका भनाई कांग्रेस वृत्तमा यो बीचमा चले।तर सबै आशंकालाई मेट्दै नेपाली कांग्रेसले ‘गेम चेन्जर’ निर्णय लिएको छ। निर्वाचनमा गठबन्धन गरेर जाने एजेण्डा कांग्रेस केन्द्रीय समितिले अन्ततस् पास गरेको छ। सत्ता गठबन्धनका अन्य दल सुरुदेखि नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने लाइनमा रहेको भए पनि कांग्रेसभित्र भने केही विवाद थिए। सभापति देउवा भने सरुदेखि नै गठबन्धनको पक्षमा थिए। 

देउवाको डर

सभापति देउवा इतर पक्ष एक्लै चुनावी मैदानमा उत्रिनु पर्ने लाइनमा थियो। तर देउवा भने गठबन्धन गरेरै जानु पर्नेमा मतमा गडिग थिए। उनले सार्वजनिकरुपमा नै गठबन्धनको पक्षमा आफ्ना भनाई राख्दै आए। नेकपा माओवादी केन्द्र एमालेसँग मिलेमा स्थानीय तहमा पार्टीको हैसियत साँघुरिने देउवाको विष्लेषण थियो। यसैले उनले भन्दै आएका थिए, ‘एक्लै चुनाव लडेर जितिँदैन।’

कांग्रेसका अर्का नेता रामचन्द्र पौडेलले पनि एक्लै चुनाव लड्छु भनेर मात्र नहुने भन्दै गठबन्धनमा जोड दिएका थिए। उनले चितवनको एक कार्यक्रममा भनेका थिए, ‘एक्लै लडेर जित्ने कति ठाउँछन् देखाउनुस् ?’सभापति देउवाले सोमबारको केन्द्रीय समिति बैठकमा राखेको यो भनाईले पनि कांग्रेसलाई गठबन्धन कति आवश्यक थियो भन्ने प्रश्न हुन्छ। देउवाले सोमबार भनेका थिए, ‘गठबन्धन नहुँदा वरिष्ठ साथीहरु नै चुनाव हारेको होइन। मैले नै बालबाल चुनाव जितेको होइन ? ’कांग्रेस केन्द्रीय समितिको सोमबारको निर्णयसँगै एमालेसँग माओवादी मिल्नसक्ने सम्भावना टरेको छ। अब सत्ता गठबन्धनकै दलहरुसँग चुनावी तालमेल हुनेछ।

कांग्रेसका केही नेताहरुका अभिव्यक्तिले भने अविश्वासको वातावरण बनाउने हो कि भन्ने समेत देखाएको छ। ‘माथीबाट गठबन्धन गरेर हुन्छ। कार्यकर्ताले भोट हाल्नु परेन ?’ कांग्रेसका केही नेताहरुले यो भनिरहँदा कार्यकर्तामा विभाजित मानसिकता देखिनु स्वभाविक हो। यो भनिरहँदा कांग्रेसले पनि के बुझ्नु पर्छ भने यो गठबन्धन कांग्रेसका मतले अरुले चुनाव जित्न मात्र गरिएको होइन, कांग्रेसलाई जिताउन पनि गरिएको हो। कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने हो भने उसका उम्मेदवारलाई अरुले भोट हालिदिन्छन् र सहजै जितिन्छ भन्ने भ्रम कांग्रेसजनले नपाले हुन्छ। कांग्रेस नेताहरुले आफ्ना मतदातालाई भड्काउन थाल्नु उसकै लागि प्रत्युत्पादक हुने निश्चित छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पटक पटकका अभिव्यक्तिमा कांग्रेसले गठबन्धन नगरे हुन्थ्यो भन्ने झल्कन्थो। उनले भन्ने गरेका थिए, ‘कांग्रेसलाई कसैको लौरौ बन्न जरुरी छैन।’ अझै उनले माओवादी लगायतका दललाई व्यंग गर्थे, ‘कांग्रेसको डुँडुलो समातेर कति दिन हिँड्ने ?’ ओलीलाई थाहा थियो, कांग्रेसँग अन्य दलको चुनावी गठबन्धन हुँदा राजनीतिले नयाँ मोड लिनसक्छ।

सैद्धन्तिक निर्णयपछिको सकस

सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सैद्धान्तिक सहमति कांग्रेस निर्णयले गरिसकेको छ। अबको सकस भनेको सिट बाँडफाँटको हो। कसका उम्मेदवार कहाँ उठाउने भन्ने विषयले निश्चित नै प्रभाव राख्ने मात्र छैन विवाद पनि निम्त्याउने छ।गठबन्धनको मोडालिटी अहिलेनै कस्तो हुने भन्ने देखिएको छैन। दलका नेताहरुले बैठक बसेर यसको मोडालिटी बनाउने नै छन्। आफ्नो जनमत नभएका स्थानमा पनि सिट खोजेर तालमेललाई कमजोर बनाउने काम दलहरुले पक्कै गर्ने छैनन्।२०७४ को स्थानीय तह निर्वाचनमा एमाले प्रथम, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए। तर अब गठबन्धनलाई सदूपयोग गरेर यसका सहयात्रीहरु अघि बढेभने यो गेम चेन्जर निर्णय हुनेछ।