जन्मिनासाथ छोरीको नाममा १२ हजार

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १७ : २८
जन्मिनासाथ छोरीको नाममा १२ हजार

हलेसी तुवाचुङ नगरपालिकाले छोरी जन्मिनासाथ १२ हजार रुपैयाँ दिने गरेको छ। नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत १२ हजार बालिकालाई उक्त रकम दिने गरेको हो।उनीहरूले सो रकम नगद हातमा र एकैपटक भने पाउँदैनन्। नगरपालिकाले वर्षमा ४ हजारका दरले तीन वर्षमा १२ हजार रकम बालिकाको बैंक खातामा जम्मा गरिदिन्छ। सो रकम बालिकाले १५ वर्ष पूरा भएपछि मात्र निकाल्न पाउने व्यवस्था छ।

छोरीको नाममा बैंकमा खाता खोल्ने र आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ।

उपलब्ध प्रमाणका आधारमा वडाले सिफारिस दिनेछ। वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा रकम जम्मा गरेर सम्बन्धित आमालाई बैंक भौचर दिने गरेको नगरपालिकाले जनाएको छ।

लैङ्गिक विभेद अन्त्यका लागि ‘बालिका बचत’ कार्यक्रम
समाजमा छोरा र छोरीबीच हुने विभेद अन्त्यका लागि ‘बालिका बचत’ कार्यक्रमको सुरुवात गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन्।

राईले भनिन्, ‘छोरी जन्माएको भन्दै आमालाई हेला गर्ने चलन अझै समाजमा कायमै छ, छोरी जन्माउँदा, न आमा खुशी हुन सक्ने अवस्था छ, न छोरीले छोराको जस्तै राम्रो शिक्षा लिन पाउँछन्। त्यसैले यस्तो लैङ्गिक विभेद अन्त्यका लागि यो कार्यक्रम सुरु गरिएको हो।’

कार्यक्रम प्रभावकारी बन्दै 
हलेसी तुवाचुङ नगरपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाका १२९ बालिकाको नाममा खाता खोलेर रकम बचत भइसकेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताइन्।

उनका अनुसार कार्यक्रमअन्तर्गत हालसम्म ४६ जना बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको छ। छोरी जन्माउने प्रायः सबै आमा बैंकमा खाता खोलेर नगरपालिकाको कार्यालयमा आउने गरेका छन्।

आमाहरू भन्छन्, ‘नगरपालिकाले दिएको यो रकम ठूलो त हैन तर कार्यक्रमको उद्देश्य भने राम्रो छ। नगरपालिकाले जम्मा गरिदिएको १२ हजारमा हामी आफू पनि सकेको रकम जम्मा गर्दै जान्छौँ, जुन रकमले छोरीहरूले पछि राम्रो पढेर आफ्नो भविष्य उज्ज्वल बनाउनेछन्।’ नगरपालिकाले यो कार्यक्रम सुरु गरेदेखि घरपरिवारमा पनि छोरी जन्माउँदा दुखी हुन छाडेर बैंक खाता खोल्न सल्लाहसँगै सहयोग गर्न थालेको आमाहरूको भनाइ छ।  

मातृ तथा शिशु मृत्युदरमा कमी
नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम सुरु गरेदेखि मातृ तथा शिशु मृत्युदरमा समेत कमी आएको नगरपालिकाकी उपमेयर राईको भनाइ छ। यो कार्यक्रमबापत रकम पाउन गर्भवती हुँदा आमाले नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण उपलब्ध गराउनुपर्नेछ।

त्यसैले कार्यक्रमबापतको रकम छोरीको नाममा राख्नका लागि भए पनि नियमित गर्भपरीक्षण गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी हुने महिलाको संख्या वृद्धि भएको उपमेयर राईले बताइन्। जसले गर्दा यसबाट नगरपालिकामा मातृ तथा शिशु मृत्युदरमा कमी आएको छ।

 

प्रतिक्रिया दिनुहोस