हेटौंडाको मेयरमा फेरि दोहोरिएला दाजुभाइको प्रतिस्पर्धा ?

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १६ : ०६
हेटौंडाको मेयरमा फेरि दोहोरिएला दाजुभाइको प्रतिस्पर्धा ?

काठमाडौँ ।  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूको दौडधुप पनि बढेको छ। गाउँघरमा निर्वाचनकेन्द्रित गतिविधिले तीव्रता पाएका छन्। ५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट नयाँ र कस्ता जनप्रतिनिधि आउँछन् भन्ने सबैको चासोको विषय बनेको छ।

मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये अन्यको तुलनामा हेटौंडा उपमहानगरमा यतिबेला चुनावी सरगर्मी बढेको छ। बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको मेयरमा कसले बाजी मार्ला? भन्नेमा यतिबेला सबैको ध्यानकेन्द्रित भएको छ। निर्वाचन नजिकिँदै गर्दा हेटौंडाको मेयर बन्न वडाध्यक्षदेखि संविधानसभा सदस्यसम्म गरि करिब १२ जना आकांक्षी देखिएका छन्। तीमध्ये नेकपा एमालेबाट मेयरका आकांक्षी हरिबहादुर महत र नेपाली कांग्रेसबाट मेयरमा आकांक्षी देखिएका भीमसेन महतमा उपमहानगरवासीसहित राजनीतिक दलको चासो बढी छ।

२०७४ सालमा भएको निर्वाचनमा पनि हेटौंडा उपमहानगरको मेयरको लागि चुनावी मैदानमा होमिएका उनीहरू सहोदर दाजुभाइ हुन्। ५ वर्षअघि एउटै पदका लागि निर्वाचनमा होमिएका दाजुभाइ आगामी चुनावमा फेरि एक-अर्काको विपक्षमा उभिएलान् त? हेटौंडावासीको मनमा कौतुहल उठ्न थालेको छ।

२०७४ सालमा भएको निर्वाचनबाट दाइ हरिबहादुर हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए भने उनका भाइ भीमसेन पराजित भएका थिए। हरिबहादुर नेकपा एमालेबाट उम्मेदवार बनेका थिए भने भीमसेन त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी–लेलिनवादीबाट उपमहानगरको मेयरको उम्मेदवार बनेका थिए। सो चुनावमा २३ हजार १ सय २४ मत पाएर हरिबहादुर मेयर चुनिँदा भीमसेनले ३ सय १५ मतमात्र पाएका थिए।

५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भने अवस्था फेरिएको छ। अहिलेको अवस्था २०७४ को निर्वाचनको जस्तो छैन। त्यतिबेलाको निर्वाचनदेखि अहिलेको चुनावसम्म आइपुग्दा दुवै दाजुभाइले आफूलाई छुट्टै रुपमा चिनाउन सफल भएका छन्।

उसो त उनीहरू पहिलेदेखि नै हेटौंडामा नाम चलेका नै व्यक्ति हुन्। दाइ हरिबहादुर अर्थात हेटौंडाका वर्तमान मेयर खेल क्षेत्रमा राम्रो पहिचान बनाएका व्यक्ति हुन्। उनी खेल र अन्य सामाजिक कामबाट हेटौंडामा पहिलेदेखि नै परिचित रहँदै आएका थिए। हरिबहादुर ०४९ र ०५४ सालमा भएको निर्वाचनमा समेत हेटौंडाको उपमेयर बनिसकेका थिए। त्यसैले पनि उनी चर्चित नै थिए।

भीमसेन पनि हेटौंडामा सधैँ चर्चामा नै रहेका व्यक्ति हुन्। उनले भीमफेदी–कुलेखानी सुरुङमार्गमा भएको भ्रष्ट्राचार र मजदुरहरूको हकहितका लागि आवाज उठाउँदै आएका छन्। सुरुङमार्ग निर्माणका नाममा निजी क्षेत्रले जनताबाट उठाएको पैसाको दुरुपयोग भएकोबारे भीमसेनले पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए। उनी समसामयीक विषयमा समेत आफ्नो धारणा फरक रुपमा राख्ने स्पष्ट व्यक्तिका रुपमा परिचित छन्।२०७४ मा भएको निर्वाचनपछि भने दाइ हरिबहादुर विकासप्रेमी सक्रिय मेयरका रुपमा चिनिएका छन् भने भाइ भीमसेन नेपाली कांग्रेस मकवानपुरको जिल्ला सचिव बन्न सफल भएका छन्। ५ वर्षअघिको चुनावमा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी–लेलिनवादीबाट उम्मेदवार बनेर थोरै मत पाएका भाइ भीमसेनले अबको निर्वाचनमा भने मत बढाउन सक्ने आँकलन गरिन्छ।

अघिल्लो निर्वाचनमा नै २३ हजार १ सय २४ मत पाएका हरिबहादुरको मत अझै बढ्नसक्ने खालको तर्क पनि गरिन्छ। उनी आबद्ध एमाले विभाजन भएको भए पनि हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेबाट उम्मेदवार बन्दा पनि उनले राम्रो मत पाउन सक्ने आँकलन गरिएको छ।पारदर्शी, काममा छिटो छरितो र कम बोल्ने स्वभावका उनले २० वर्षपछि भएको अघिल्लो निर्वाचनयता हेटौंडामा राम्रो चर्चा बटुलेका छन् भने कांग्रेसले पनि अघिल्लो निर्वाचनको तुलनामा आफ्नो स्थितिमा केही सुधार गरेको देखिन्छ।

त्यसमा पनि कांग्रेसले अन्य दलसँग गरेको गठबन्धनबाट भीमसेन र एमालेबाट हरिबहादुर मेयरको उम्मेदवार बनेमा कसले कति मत ल्याउलान्? यतिबेलाको चुनावी माहोलमा यो पनि प्रश्न उठेको छ। सहोदर दाजुभाइ यी दुई महतबीचको सम्बन्ध ठिकै मात्र रहेको बताइन्छ। दुवैजनाले आ–आफ्नो पार्टीबाट मेयरको उम्मेदवार बन्न लबिङ गरिरहेका छन्।हेटौंडाको मेयरमा फेरि दाजुभाइको भिडन्त हुन्छ जस्तो छ त? भन्ने थाहाखबरको प्रश्नमा भीमसेनले दाजुभाइको सम्बन्ध एक ठाउँमा र राजनीति अर्को ठाउँमा भएको टिप्पणी गरे। उनले आफू हेटौंडाको मेयरको लागि आकांक्षी रहेको भन्दै निर्वाचनमा दाजुभाइ भन्ने नहुने बताए।

‘दाइ फरक पार्टीको मान्छे, म फरक पार्टीको मान्छे। हामीले आ–आफ्नो पार्टीबाट छुट्टै आफ्नो तरिकाले उम्मेदवार बन्न खाजेको हो। यसमा दाजुभाइ भन्ने कुरा हुँदैन। निर्वाचनमा असर गर्दैन’, उनले भने।उनले पार्टीबाट उम्मेदवार बन्नका लागि केन्द्रमा समेत छलफल गरिरहेको भन्दै पार्टीले आफूलाई नै उम्मेदवार बनाउनेमा आशावादी रहेको बताए। हरिबहादुर पनि निर्वाचन राजनीति भएकाले व्यक्तिगत सम्बन्धको प्रभाव नपर्ने बताउँछन्।

टिकट पाउनेमा आशंका

स्थानीय तहको आगामी निर्वाचनमा दाजुभाइ नै आकांक्षी देखिएको भएपनि उनीहरूले पार्टीबाट टिकट पाउने विषयमा भने आशंका रहेको छ। एमालेबाट हरिबहादुरसहित ५ जना आकांक्षी देखिएका छन्। संविधानसभा सदस्य अनन्त पौडेलदेखि ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलसम्म मेयरको दौडमा छन्।

जिल्ला समन्वय समिति (जिसस) प्रमुख रघुनाथ खुलाल, पार्टीका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले समेत इच्छा देखाएको एमाले वृत्तमा चर्चा छ। यस्तोमा हरिबहादुर हेटौंडाको मेयरमा फेरि दोहोरिन पाउलान् कि नपाउलान्? यसै भन्न सकिने अवस्था छैन।

संविधानसभा सदस्य र पार्टीको जिल्ला अध्यक्षसमेत मेयरमा आकांक्षी रहेको हुँदा हरिबहादुरले टिकट पाउने कुरामा विश्वस्त हुन सकिने अवस्था छैन। पौडेल र जिसस प्रमुख खुलाल एमाले अध्यक्ष केपी ओलीका पुरानो निकटम् पात्रको रुपमा समेत परिचित छन्। 

उता, भीमसेनको अवस्था पनि उस्तै छ। केही वर्षअघि मात्रा कांग्रेसमा आएर जिल्ला सचिव बनिसकेका उनले पार्टीबाट टिकट पाउन ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ। कांग्रेसबाट पनि हेटौंडाको मेयर बन्न महतसहित ४ जनाले आकांक्षा देखाएका छन्। तीमध्ये कांग्रेस मकवानपुरका पूर्वसचिव आनन्दराम पराजुली मेयरका बलिया आकांक्षी हुन्।

केही दिनअघि भएको पार्टीको जिल्ला अधिवेशनमा सभापति उठेका पराजुली त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भए। कांग्रेसको विधानअनुसार ५० प्रतिशतभन्दा बढी मत नआएपछि धेरै मत ल्याउने दुई जनाबीच पुनः प्रतिष्पर्धा हुने व्यवस्था छ। तर पराजुलीले पहिलो भएका बुद्ध लामालाई समर्थन गर्दै पुनः चुनावमा गएनन्। यसमा उनलाई मेयरको टिकट दिलाउने आश्वासनले काम गरेको नेताहरुको चर्चा छ। पराजुली २०७४ को निर्वाचनमा पनि कांग्रेसबाट हेटौंडा उपमहानगरको मेयरमा पराजित उम्मेदवार हुन्।

कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले पनि आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन्। पार्टीमा प्रकाशमान सिंह पक्षधर दाहालले आफू मेयरको उम्मेदवार बन्ने सार्वजनिक रुपमा बताउँदै आएका छन्। उनी नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय महामन्त्री हुन्। कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापति उत्सव इटेनीले पनि मेयरमा आकांक्षा देखाएका चर्चा छ।

पहिलो कुरा महत संस्थापनइतर समूहका हुन्। दोस्रो कुरा पार्टीमा आकांक्षी धेरै हुँदा उनको संघर्ष बढेको छ भने तेस्रोमा उनीभन्दा पराजुली पार्टीबाट मेयर बन्ने बलियो आकांक्षी तथा सम्भावित व्यक्ति हुन्। त्यसैले उनले स्थानीय तहको आगामी निर्वाचनमा कांग्रेसबाट हेटौंडाको मेयरमा टिकट पाउँछन् कि पाउँदैनन् भन्ने कुरा पार्टी र आम रुपमा चासोको अर्को विषय बनेको छ। 

प्रतिक्रिया दिनुहोस