नेपालले पिएनजीलाई हरायो, एकदिवसीय र टी ट्वान्टीका लागि खेलाडी घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १९ : २७
नेपालले पिएनजीलाई हरायो, एकदिवसीय र टी ट्वान्टीका लागि खेलाडी घोषणा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले । ५० रन बनाएका कुशलले ६४ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै, ५९ रनमा अविजित रहेका आरिफले एक सय दुई बलमा चार चौका प्रहार गरे ।

यसबाहेक, नेपाली टोलीका खातामा रोहितकुमार पौडेलले अविजित ४४ रन थप्दा ओपनर आशिफ शेख दुई रनमा र दीपेन्द्रसिंह ऐरी सुन्यमै पभेलियन फर्किए ।

पिएनजीका चार्ल्स एमिनीले दुई विकेट लिँदा एलेइ नाओले एक विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको योगफल तयार गरेको थियो ।

पिएनजीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै, चाड सोपरले २२, लेगा सिएकाले २० र सेसे बाउले १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । यसबाहेक, पवन सर्राफ, दीपेन्द्र, आरिफ र करणले एक एक विकेट लिए । डिभिजन २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । तालिकाको पुछारमा रहेको पिएनजीले १६ खेलबाट दुई अंकमात्र जोडेको छ । 

एकदिवसीय र टी ट्वान्टीका लागि खेलाडी घोषणा
घरेलु मैदानमा हुने पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र त्रिदेशीय ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १५ दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले स्थान बनाउन सकेनन् । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एकदिवसीय र ट्वान्टी २० शृंखला मार्च २५ देखि अप्रिल चार सम्म चल्नेछ ।

नेपालले त्रिदेशीय शृंखलाअघि पिएनजीविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय शृंखलाका लागि नेपाली टोलीः कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशासन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की

ट्वान्टी २० शृंखलाका लागि घोषित नेपाली टोलीः कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी

प्रतिक्रिया दिनुहोस