छुट्टै अनुसन्धान ब्यूरो बनाउने बागमती सरकारको तयारी

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १६ : ५९
छुट्टै अनुसन्धान ब्यूरो बनाउने बागमती सरकारको तयारी

काठमाडौँ  । बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ। मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक, २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो।

नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानुन बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो।

आज बसेको प्रदेशसभाको बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए। कानुन मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो।

त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ। 

प्रतिक्रिया दिनुहोस