जलस्रोत ऐनको मस्यौदा संसद्‌मा पेश गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १६ : ४५
जलस्रोत ऐनको मस्यौदा संसद्‌मा पेश गर्ने तयारी

काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदा संसद्‌मा पेश गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रूप लिई संसद्‌मा पेश गर्ने तयारी गरिएको बताएकी हुन्।

अब छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी संसद्‌मा दर्ता गर्ने मन्त्री भुसालको योजना छ। मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रूपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको पनि बताइन्। विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार जल संरक्षण र संवर्द्धनमा पर्याप्त सचेत रहेको पनि  जानकारी दिइन्।

भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसका लागि आमनागरिकको सचेतनामा समेत ख्याल पुर्‍याउनुपर्ने उल्लेख गरिन्।

‘राष्ट्रिय जलस्रोत नीति–२०७७ जारी भइसकेको छ। यस नीतिलाई कानुनमा रूपान्तरण गरी जलस्रोत ऐनको मस्यौदा समेत तयार भइसकेको अवस्था छ। अब हामी अन्तिम अवस्थामा छौं। छलफल गर्दै छौं', मन्त्री भुसालले भनिन्, ' यसलाई अन्तिम रूप दिएपछि क्याबिनेट हुँदै संसद्‌मा दर्ता गर्नेछौं। यसका साथै जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजना समेत सम्पन्न हुने क्रममा छ। जुन हाम्रो १५ औं आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रूपमा राखिएको छ। जल संरक्षण र स‌ंवर्द्धनमा हामी पर्याप्त सचेत पनि छौं। आजको आवश्यक्ता सो अनुकूलको कार्यान्वयन र आम मानिसको यसप्रति सचेतना नै हो।’

मन्त्री भुसालले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताइन्। 

प्रतिक्रिया दिनुहोस