पोखरामा देशभरिका न्यायिक समितिहरूको राष्ट्रिय भेला हुने

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १६ : २७
पोखरामा देशभरिका न्यायिक समितिहरूको राष्ट्रिय भेला हुने

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थानीय तहमा गठन गरिएका न्यायिक समितिहरूको राष्ट्रिय भेला हुने भएको छ। कास्कीको पोखरा महानगरपालिकाको आयोजनामा देशभरका स्थानीय तहका उपप्रमुखहरू पोखरामा भेला हुने भएका हुन्। स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रूपमा न्याय सम्पादनमा भइरहेका असल अभ्यास र चुनौतीबारे अनुभव आदानप्रदान गर्न पोखरामा जम्मा हुने भएका हुन्।

संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७७ ओटै जिल्लाका ७ सय ५३ ओटा स्थानीय तहमा भइरहेको न्याय सम्पादन, यसका असल अभ्यास र चुनौतीका बारेमा छलफल गरेर यसलाई अझै प्रभावकारी बनाउने उपायबारे पनि छलफल गर्न भेला आयोजना गरिएको ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८’ को आयोजक पोखरा महानगरपालिकाका न्यायिक समिति संयोजक तथा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्।

पोखरा महानगरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरी विषय, योजना र तयारीबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा गुरुङले चैत १४ गते पोखरा सभागृहमा हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिइन्। ‘स्थानीय तहहरूमा न्यायिक समिति नयाँ पनि हो, त्यसैले न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरूका बारेमा अनुभव साटासाट गर्दै कमीकमजोरीहरू र सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छौँ,’ उनले भनिन्, ‘राम्रो गरिरहेका स्थानीय तहहरूले थप पृष्ठपोषण पाउने अवस्था रहन्छ। राम्रो गर्न नसकेको अवस्था रहेको भए राम्रो अभ्यास गरिरहेकाबाट सिको गर्न पनि पाइनेछ। यसले देशभरकै स्थानीय तहमा न्यायसम्बन्धी कार्यसम्पादनमा थप बल दिन्छ भन्ने लागेको छ।’

सम्मेलनमा पोखराको न्यायिक समितिले न्याय निरूपण गरेको प्रयासहरू बारे निर्माण गरिएको वृत्तचित्र समेत प्रदर्शन गरिने उपप्रमुख गुरुङले बताइन्। सम्मेलन व्यवस्थित रूपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न ८ ओटा उपसमिति गठन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्यसचिव बलराम रिज्यालले जानकारी दिए।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मेलन सकारात्मक भएको बताउँदै सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे। देशभरका पालिकाका नेतृत्वकर्ताहरू पोखरा आउँदा पोखराको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने भएकाले यो सम्मेलन सकारात्मक रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस