अस्ट्रेलियाले छैटौं खेलमा पनि जारी राख्यो अपराजित यात्रा

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १५ : ०९
अस्ट्रेलियाले छैटौं खेलमा पनि जारी राख्यो अपराजित यात्रा

काठमाडौँ । एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले सनसनीपूर्ण प्रदर्शन जारी राखेको छ। एकमात्र अपराजित टिमका रुपमा यसअघि सेमिफाइनल पुगिसकेको अस्ट्रेलियाले अपराजित रहेको अर्को टोली दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै ६ खेलबाट १२ अंक हासिल गर्‍यो।

वेलिङ्टनमा भिडेका दाबेदार दुई टोलीले शानदार प्रदर्शन गरेका थिए। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७१ रनको उच्च स्कोर तयार गरेको थियो।उसका लागि लउरा वलभार्डिटले ९० रनको शानदार इनिङ खेल्दा कप्तान सुने लुसले ५२ रन बनाएकी थिइन्। त्यस्तै ओपनर लिजेले ले ३६ रनको योगदान दिँदा मार्जना कापले ३० तथा चोए ट्रयनले १७ रनको अविजित इनिङ खेलेकी थिइन्।

२ सय ७२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अस्ट्रेलियाले आफ्नो रवाफिलो प्रदर्शन जारी राख्यो। उसले २८ बल बाँकी हुँदै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। अस्ट्रेलियाको प्रभावशाली जितमा कप्तान मेग लानिङले शानदार अविजित शतक प्रहार गरिन्।

उनले १ सय ३० बलमा १ सय ३५ रनको नटआउट इनिङ खेलिन्। तहिला म्याग्रथले ३२ रन बनाउँदा अहिलेघा गार्दरनरले २२ रन तथा अनबेल सुतहर्लान्डले २२ रनको अविजित इनिङ खेलेकी थिइन्। 

प्रतिक्रिया दिनुहोस