दुर्गम गाउँ सडक संजालमा जोडिएसँगै बुलका स्थानीय खुसीले फुरुंग

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १५ : ३०
दुर्गम गाउँ सडक संजालमा जोडिएसँगै बुलका स्थानीय खुसीले फुरुंग

काठमाडौं ।  हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका-६ मा पर्ने दुर्गम मराङको बुल गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ।

गाउँमा सडक पुगेपछि स्थानीय वासिन्दाहरु खुसीले फुरुङ्ग भएका छन्। भौगोलिक रुपमा अत्यन्त विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङका  सबै बस्तीमा सडक संजालको पहुँच पुगेको छ।हालै मात्र मराङको राम्चे–जेवाङ हुँदै बुल गाउँसम्म सडक जोडिएको राम्चे–जेवाङ हुँदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताए।

गाउँमा सडक पुगेपछि अप्ठ्यारो पैदलमार्गको प्रयोग गरी छिमेकी गाउँसम्म आउनुपर्ने बाध्यता हटेको छ। सडक पुगेपछि वर्षौंदेखि भीर पहरामा झुण्डिएर यात्रा गर्न बाध्य बुलका वासिन्दाको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पुर्‍याउन सजिलो भएको अध्यक्ष जुग्जालीले जानकारी दिए।

‘वर्षौंदेखिको हाम्रो प्रयास सफल भएको छ,गाउँघरमै मोटरबाटो आएपछि स्थानीयवासी खुशी भएका छन्’जुग्जालीले भने।अब मराङको बुलबाट छिमेकी वडा मल्कवाङको मलम्पारतर्फ सडक विस्तार गरिने उनको भनाइ छ। गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयको जीवनस्तर उकासिने सवारीचालक श्रीप्रसाद पुनको विश्वास छ।छिमेकी गाउँबाट यात्रु बोक्दै आएका पुनले अब गाउँबाटै स्थानीयलाई गन्तव्‍यसम्म पुर्‍याउन सहज भएको बताए।

सडक सञ्जालले करिब ७० घरधुरी लाभान्वित भएका छन्। सडक विस्तारमा गतवर्ष संसद् विकास कोषबाट १७ लाख र गाउँपालिकाबाट १० लाख बजेट विनियोजना गरिएको नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य ईश्वर सुबेदीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस