होलीलाई दुर्घटनारहित बनाउन उपत्यकामा १३ सय ट्राफिक प्रहरी खटाइने

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १५ : ००
होलीलाई दुर्घटनारहित बनाउन उपत्यकामा १३ सय ट्राफिक प्रहरी खटाइने

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ हजार ३०० भन्दा बढी ट्राफिक प्रहरी खटाउने भएको छ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गर्ने भएको हो।

होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार बिफिङसमेत गरे।

‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।’

ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाएको छ। महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस