काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन । शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताए ।
एमसीसी सम्झौंताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उनले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे । अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्किपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गरे ।
एमसीसी सम्झौताका केही प्रावधानहरु परिवर्तन गर्ने सम्बन्धमा अझैपनि छलफल चलिरहेको उनले बताए । अध्यक्ष नेपालले भने, ‘यस सन्दर्भमा कतिपय प्रावधानहरुको बारेमा प्रश्नहरु उठेका छन् । ति आपत्तिजनक रहेका छन् । ति प्रावधानहरुलाई सच्याउनु पर्दछ । सुधार्नुपर्दछ । त्यसको निम्ति हामीले धेरै समयदेखि कुरा उठाइ पनि रहेका छौँ । प्रधानमन्त्रिको ध्यान आकर्षित पनि गरेका छौँ । नेकपा हुँदाखेरी नै कार्यदल बनेर अध्ययन गरेको थियो । अध्ययनका केही विषय अगाडी सारिएका थिए । त्यसको अझै सटिक जवाफ आएको छैन । अमेरिकाले केही प्रष्ट पार्न खोजेका कुराहरु भएतापनि कतिपय कुराहरुले कन्फ्युजन पैदा ग¥यो । अमेरिकीहरुले केही अभिव्यक्तिले गर्दाखेरी, यसैबिचमा सहायत नलिदाँखेरी नेपाललाई दबाब दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरु प्रयोग भए । यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ । हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौँ भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला ? भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौँ । तर एकदम अवसरवादी नीति लिएको र अराजनीतिक अडान लिएको केपी ओली गुटले हामी माथि कारबाही गर्नुपर्दछ, सभामुखमाथि कारबाही गर्नुपर्दछ भन्नेदेखि लिएर यस्ता अत्यन्तै गैर राजनीतिक, प्रतिशोधात्मक कुरा राखेर देशको हितमाथि कुठाराघात गर्ने र विदेशीको सामु लम्पसार पर्ने नीति लिदैँ आएको पनि छ । बिगतमा पनि त्यही भएको थियो ।’
अध्यक्ष नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रुपमा समावेश गर्न नदिने बताए । उनले छिमेकी देशहरुको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताए । उनले बताए – ‘हाम्रो पार्टी एउटा देशभक्त पार्टी हो । क्रान्तिकारी पार्टी हो । परिवर्तनकारी पार्टी हो । हामीले कुनैपनि सम्झौताको सारमा जानु पर्दछ । सारमा गम्भिर त्रुटीहरु छन् भने त्यसलाई सच्याउनुपर्दछ भन्ने धारणा राख्दछौँ । विदेशीहरुको प्रभावमा पर्न पनि चाहादैनौँ । हामी कुनैपनि किसिमको सैन्य गठबन्धनमा, सुरक्षा रणनीतिको अंगको रुपमा आफुलाई समावेश गर्ने पक्षमा छैनौँ । हामी आइपिएसको अंग हुन सक्दैनौँ । इन्डोप्यासिफिक स्ट्रटेजीको अंग हुन सक्दैनौँ । त्यसको कुनैपनि काम, क्रियाकलापमा हामी सहभागि हुन सक्दैनौँ । हामी असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति प्रतिवद्ध छौँ । हाम्रो छिमेकी देशहरुको सुरक्षामा प्रतिकुल असर पर्ने काम नेपालको भुमिबाट हुनेकुरा हामीलाई मञ्जुर छैन । र त्यस्तो हुन हामी दिदैनौँ ।’उनले संसदमा टेवल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल