एमसिसीका कारण सत्ता गठबन्धन चिरा पर्ने अवस्थामा पुगेकै हो ?

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १९ : ५९
एमसिसीका कारण सत्ता गठबन्धन चिरा पर्ने अवस्थामा पुगेकै हो ?

काठमाडौँ । एमसिसीको तातो देशभर फैलिएको छ । एमसीसीको तातोले सत्ता गठबन्धन नै चिरा पर्ने अवस्थामा पुग्न लागेको खबरहरु बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा सघाए एमालेका माग पूरा गर्न आफू तयार भएको बताएका छन्।

गठबन्धन फुटतिर जाने देखिएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने भएको छैन । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि आ–आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए ।

बिहीबार बिहान माओवादी र एकीकृत समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए । यो निष्कर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रममा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीमा सहमति जुटेन । त्यसपछि दुवै नेता आ आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका हुन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए ।  नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’

देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले पछिल्लो वस्तुस्थितिको बारेमा एमाले नेताहरुलाई जानकारी गराएका थिए । यसैबीच प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचपनि बिहीबार अपराह्न भेटवार्ता भएको छ । भेटवार्तामा कुनै सहमति हुन सकेन । प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भइरहेको बुझिएको छ । भेटवार्ता नजिकतर्फ गइरहेको स्रोतको भनाइ छ । यता गठबन्धन चिरा पर्ने संकेतहरु देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस