जिल्ला कमिटीलाई प्रचण्डको पत्र : सम्भावित उमेदवारको रोस्टर तयार पारेर पठाऊ

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १९ : ३५
जिल्ला कमिटीलाई प्रचण्डको पत्र : सम्भावित उमेदवारको रोस्टर तयार पारेर पठाऊ

काठमाडौँ । स्थानीय तह निर्वाचनको तयारी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पार्टीका तल्लो तहका कमिटीलाई सम्भावित उमेदवारको रोस्टर तयार पारेर पठाउन पत्रचार गरेका छन् । पार्टीबाट सम्भावित उम्मेदवारको रोस्टर तयार गर्नका लागि दाहालले स्थानीय र जिल्ला कमिटीहरूलाई निर्देशन दिएका छन् ।

दाहालले जारी गरेको परिपत्रमा भनिएको छ, ‘वडामा सक्षम, इमानदार र लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्ने ।’ वडामा सकरात्मक प्रभाव पार्ने व्यक्ति, शिक्षक, कर्मचारी, स्थानीय क्लबमा आबद्ध युवाहरू, विभिन्न धार्मिक समूह र प्रतिष्ठानमा आबद्ध व्यक्ति, ज्योतिष, धामीझाँक्री र धर्म गुरुहरूको नामावली संकलन गर्न र उनीहरूको राजनीतिक झुकावको पहिचान गर्न पनि परिपत्रमा उल्लेख छ । त्यस्तै, स्थानीय तहका मतदाताको नामावली तयार गर्न र उनीहरूको राजनीतिक झुकाव पहिचान गर्न निर्देशन छ।

दाहालको परिपत्रमा जिल्ला समन्वय समिति, नगर र गाउँ, वडा लगायत सबै तहका पार्टी समितिहरू र विधानले व्यवस्था गरे बमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागहरूलाई पूर्णता दिन भनेका छन् । ‘एक वडा, तीन टोल र एक टोल तीन सेल’ को समिति गठन गर्ने पार्टी निर्णय लागू गर्न पनि दाहालले परिपत्र जारी गरेका छन् । संगठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा संगठित गर्न पनि परिपत्रमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सम्भव भएसम्म केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्न पनि परिपत्रमा उल्लेख छ । जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बस्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस