जेब्रा झोलाभित्र टुक्राटुक्रा शव, मृतकको पहिचान खुल्न सकेन

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, २१ : २८
जेब्रा झोलाभित्र टुक्राटुक्रा शव, मृतकको पहिचान खुल्न सकेन

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका ४ स्थित जंगलमा जेब्रा झोलाभित्र टुक्राटुक्रा शव भेटिएको ४ दिन बितिसक्दा पनि मृतकको पहिचान खुल्न सकेको छैन। काटेर शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर फ्यालिएको अवस्थामा धरान भेडेटार सडक खण्डको जंगलमा शव भेटिएको थियो। शवको सनाखत हुन नसक्दा घटनाको अनुसन्धानले सही बाटो पहिल्याउन सकिरहेको छैन। पहिचान नखुल्दा अनुसन्धान जटिल र गम्भीर मोडमा पुगेको छ। 

प्रहरीका अनुसार हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै अलगअलग जेब्रा झोलामा प्याक गरेर फ्यालिएको अवस्थामा गत बुधबार र बिहीबार पुरुषको शव भेटिएको थियो। घाँटीभन्दा माथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको थियो। भोलिपल्ट अर्थात् बिहीबार करिब १ किलोमिटरमाथि जीउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटियो। 

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शवका टुक्रा भेटिएका पुरुषको पहिचान नखुल्दा अनुसन्धान असहज बनिरहेको छ। शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। टुक्रा बनाइएको शवलाई जोड्दै पुरुषको अनुहार र उनले लगाएका कपडा प्रष्टसँग देखिने फोटोसमेत सार्वजनिक गरेर प्रहरीले सनाखतको प्रयास जारी राखेको थापाको भनाइ छ। 

उनका अनुसार अहिलेसम्म मृतकका परिवारका सदस्य तथा कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्। मृतकको साथबाट परिचय खुल्ने कुनै कागजात फेला परेन। ‘परिवारका कोही सदस्य सम्पर्कविहीन भएको भए प्रहरीलाई जानकारी दिएर घटनाको अनुसन्धानमा सहयोग गर्न सबैमा आग्रह गरेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म परिवारका सदस्य बेपत्ता भएको भनेर कोही सम्पर्कमा आइपुगेका छैनन्।’ 

घटनालाई निस्कर्षमा पुर्‍याउन जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय इकाइ प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली परिचालित छ। कालो ज्याकेट, पेन्ट, वेल्ट (पेटी) र जनै लगाएको अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको टुक्राटुक्रा शव भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट बहराइनमा निर्मित मास्क पनि फेला परेको थियो। त्यसका आधारमा मृतक वैदेशिक रोजगारीका लागि बहराइन गएर नेपाल फर्किएका पुरुष हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

प्रतिक्रिया दिनुहोस