निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, २० : २२
निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघले कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै ब्याजदर वृद्धिको निर्णयले सशंकित बनाएको बताएको छ।

बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले फागुन महिनाका लागि ब्याजदर सीमा यसअघिको बाट १ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको छ। उद्योग वाणिज्य महासंघले सो निर्णयको विरोध गरेको हो। ‘एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठ्नु पर्ने रकम समेत बजारबाट उठ्न सकिरहेको अवस्था छैन’

महासंघले भनेको छ, ‘बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको छ।’

प्रतिक्रिया दिनुहोस