देउवा प्रचण्डबीच बालुवाटारमा वार्ता !

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, २१ : ३१
देउवा प्रचण्डबीच बालुवाटारमा वार्ता !

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार छलफल भएको छ। बुधबार साँझ दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। दुई नेताबीच भएको भेटवार्तामा चुनाव, एमसिसी र गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ । 

नेपाली कांग्रेसलाई गठबन्धन छोड्न तीव्र दबाब छ । एकल रुपमा कांग्रेसले चुनाव जित्ने अवस्था हुँदा हुँदै गठबन्धन नगर्न आफ्नै नेताबाट दबाब खेपिरहेका प्रधानमन्त्री देउवाले बुधबार माओवादी अध्यक्ष प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज (बुधबार) का लागि बोलाएको संसद बैठक स्थगित गर्न बाध्य भएका थिए।

दुई नेताबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको दुई दिनपछि दुई नेताबीच भेट भएको हो । प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा बुधबार छलफल गरेका थिए । देउवाले सत्ता गठबन्धनमा छलफल नगरी स्थानीय तहको मिति घोषणा गरेको भन्दै असन्तुष्टि चुलिएको छ । 

प्रतिक्रिया दिनुहोस