काठमाडौँ । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले विभिन्न सरकारी निकायमा देखिएका बेरुजुका विषयमा विस्तृत अध्ययन, छलफल तथा फर्स्योट प्रक्रियालाई प्रभावकारी बनाउन पाँचवटा उपसमिति गठन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालय तथा सम्बन्धित सरकारी निकायलाई छुट्टाछुट्टै समूहमा वर्गीकरण गर्दै उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति भरतबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक अनुशासन, पारदर्शिता र बेरुजु व्यवस्थापनलाई व्यवस्थित ढंगले अघि बढाउने उद्देश्यसहित उक्त संरचना तयार गरेको जनाएको छ।
गठित पाँच उपसमितिमध्ये तीनवटाको संयोजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्यहरूले गर्ने भएका छन् भने बाँकी दुई उपसमितिको नेतृत्व क्रमशः नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिले सम्हाल्ने व्यवस्था गरिएको छ।
समितिले गठन गरेको ‘अर्थ तथा सुशासन’ सम्बन्धी उपसमितिको संयोजकमा रुकेश रञ्जितलाई जिम्मेवारी प्रदान गरिएको छ। उपसमितिहरूले तोकिएका मन्त्रालय तथा निकायसँग सम्बन्धित बेरुजुको अवस्था अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेस गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै
सार्वजनिक लेखा समितिको बैठक स्थगित