काठमाडौं । मुलुकका साना–ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन्। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पनि यसबारे अनुसन्धान गरिरहेको छ। सुरक्षा स्रोतका अनुसार अहिले नेपाल–भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन्।
‘भारतमै कारखाना खोलेर हजार दरका नक्कली नेपाली नोट छपाएर ल्याइएको सूचना पाएका छौं, सोही आधारमा हामीले अनुसन्धान र निगरानी गरिरहेका छौं,’ एक सुरक्षा अधिकारीले भने। ती अधिकारीका अनुसार यो धन्दामा संलग्न भारतीय र नेपालीले मिलेर नक्कली नोट बजारमा ल्याउने काम गरिरहेका छन्। प्रहरीका अनुसार गिरोहले नक्कली नोटको कारोबार कपडा पसल, तरकारी पसल, खाद्यान्न पसलमा गरेको पाइएको छ। गिरोहले नक्कली नोटको कारोबार सानोसानो परिमाणमा गर्दै आएको छ। कारोबारीले कुनै सामान खरिद गर्दा वा बिल भुक्तानी गर्दा सक्कली नोटको बीचमा नक्कली नोट मिसाएर दिने गरेका छन्।
यस्तो धन्दा गर्नेले गत तीन महिनाको अवधिमा नेपाली बजारमा करोड रुपैयाँभन्दा बढीका नक्कली नोट प्रवेश गराएको अनुमान छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले नक्कली नोट छाप्ने स्थान र मुख्य कारोबारीको खोजी गरिरहेका छन्। ‘हामीले सीमापारिबाट नक्कली नोट ल्याएको सूचना पाएका छौं। काठमाडौं आसपासमा प्रिन्टरबाट गरिने छपाइ नियन्त्रण गर्न सकिएको अवस्था छ तर सीमापारिबाट गिरोहले नै नक्कली नोट भित्राउने गरेको सूचना पाएका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ माघ २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ