म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी

शनिबार, १५ माघ २०७८, १५ : १६
म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याचेलेटले जनताले ज्यान र स्वतन्त्रता गुमाएकोमा म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।

उनले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी रहेको टिप्पणी गर्दै यसमा संकटको परिमाणसँग मिल्दोजुल्दो तत्काल भावनाको अभाव रहेको बताए।म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा उनको जोड छ ।

म्यानमारमा मानवअधिकार र प्रजातन्त्र पुनस्र्थापना गर्न र प्रणालीगत मानवअधिकार उल्लंघन र दुव्र्यवहारका दोषीहरूलाई कारबाही गर्ने सुनिश्चित गर्नको लागि तत्काल कदम चाल्नुको विकल्प नभएकोमा राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ ।

म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा सत्ता कब्जा गरी नागरिक सरकारलाई अपदस्थ गर्दै नेत्री आङ साङ सुचीलाई गिरफ्तार गरेको थियो । उक्त कदमको विरोधमा म्यानमारका जनताको विद्रोह जारी छ । यस क्रममा सेनाले गरेको रक्तपातपूर्ण कारवाहीमा सयौंले ज्यान गुमाएका छन् ।

अझैपनि हजारौं नागरिकलाई सरकारको विरोधमा लागेको आरोपमा सेनाले हिरासतमा राखेको छ ।