चीन भर्सेस एलन मस्क

एजेन्सी

शुक्रबार, १४ माघ २०७८, १४ : ४७
चीन भर्सेस एलन मस्क

काठमाडौं  । चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटलाइट तयार पारे भने चीनले त्यसको जवाफमा १३ हजार स्याटलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ । उता, चीनको यस्तो ठूलो योजनाले संसारभर जासुसीको डर पैदा हुन पुगेको छ ।

डेली मेलको रिपोर्टअनुसार चीनको यो योजनाको उद्देश्य फाइभजी सेवालाई गति दिनु रहेको छ । यी स्याटलाइट निर्माण कार्य चोङकिङ सहरमा भइरहेको छ । चीनले आफ्ना ग्रामीण इलाकामा इन्टरेनेट सेवा वितरण गर्ने बताए पनि यसबारे थप कुरा बाहिर आएको छैन ।

अहिले संसारभर फ्रिक्वेन्सीमा कब्जा जमाउने विषयमा होडबाजी चलिरहेको छ । यस विषयमा चीनले चिन्ता जनाउँदै आएको छ । आशंका के गरिँदै छ भने यो हाइस्पिड इन्टरनेट सेवा विस्तारमा चीन अघि बढिरहेको छ । चीनले यस्तो स्याटलाइट अमेरिकालगायतका मुलुकको जासुसी गर्नमा प्रयोग गर्नसक्ने सन्दर्भलाई लिएर यतिखेर चिन्ता बढेको छ । उसै पनि कोरोना महामारीको विषयलाई लिएर चीन र पश्चिमा मुलुकहरूबीच तनाव कायमै छ । 

मंगलग्रहमा सहर बसाउने सपना देखिरहेका स्पेसएक्स कम्पनीका मालिक एलन मस्क पूरै अन्तरिक्षलाई आफ्नो स्टारलिंक उपग्रहबाट बाँध्ने कार्यमा जुटिरहेका छन् । मस्कको कम्पनीले अहिलेसम्म दुई हजार उपग्रह अन्तरिक्षमा छाडिसकेका छन् । उनको योजना कुल ४२ हजार उपग्रहलाई अन्तरिक्षमा छाड्नु रहेको छ । 

हालै फाल्क रकेटको मद्दतमा स्पेसएक्सले ४९ स्टारलिंक उपग्रह अन्तरिक्षमा छाडेको थियो । यिनै उपग्रहको मद्दतबाट मस्क सारा संसारमा इन्टरनेट सेवा सुरु गर्ने तयारीमा छन् । यही कार्य गर्न चीन पनि अग्रसर भइरहेको देखिन्छ । (एजेन्सी)