सुनकोसी नदीको दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, १३ : ३५
सुनकोसी नदीको दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा-जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी वस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेडिज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन् ।

परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलकी श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाकी एक छोरी छन् । “उनीहरु शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस