विद्यार्थीहरुले परीक्षा रोक्न गुहारे गृहमन्त्री !

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १९ : १४
विद्यार्थीहरुले परीक्षा रोक्न गुहारे गृहमन्त्री !

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बिए एलएलबी चौंथो वर्षको परीक्षालाई निरन्तरता दिने कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् ।

बिएलएलबीको पहिलो दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याएका मध्ये प्राञ्जली कँडेल र अञ्जली तिवारीलाई बिहीबार टेलिफोन गरेर गृहमन्त्री खाणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोधेका थिए ।

विश्वविद्यालयले पुस २९ गतेबाट सुरु गरेको बिएएलएलबी चौँथो वर्षको परीक्षामध्ये बुधबार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमण नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षार्थीहरूले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरूको टोली बिहीबार गृहमन्त्री खाणलाई भेट्न मन्त्रालय आएको थियो । 

काठमाडौँ स्कुल अफ ल भक्तपुर दधिकोटमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्रलगायतका विद्यार्थीहरू मन्त्री खाणलाई भेट्न मन्त्रालयमा आएका थिए । उनीहरूलाई मन्त्री खाणले पढ्नमा ‘ट्यालेन्ट’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर परीक्षाको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगन भएमा केही तयारी गर्न पाइन्थ्यो भरेर स्थगनको माग राखेको भन्ने कुरा आएकोले यथार्थ के हो भनेर सोधेका थिए । 

त्यसपछि विद्यार्थीहरूले बिएएलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए ।  उनीहरूको त्यो जवाफपछि मन्त्री खाणले पहिलो हुने विद्यार्थी कँडेल र तिवारीको मोवाइल नम्बर मागेर टेलिफोन गरेका थिए । मन्त्री खाणसँग टेलिफोनमा कँडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टर भएको क्याम्पसले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।

अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । गृहमन्त्री खाणलाई विद्यार्थीहरूले भेटेर स्वास्थ्यका मापदण्ड नअप्नाइ विश्वविद्यालयले परीक्षा सञ्चालन गरिएको भन्दै स्थगन गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस