सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, १७ : २०
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे–डे) को अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराउनुभएको हो । पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै थापाले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता तोड्ने’ बेला आएको बताउनु भयो । सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै थापाले ‘कानूनको शासन’ र ‘कानुनद्वारा शासन’ बीचको भिन्नता बुझ्न आग्रह गर्नुभयो । लोकतन्त्रमा सरकार कानूनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानूनलाई ‘लठ्ठी’ बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको उहाँको आरोप छ । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै थापाले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको बताउनु भयो । संवैधानिक परिषद् राज्यको अङ्ग भएको र यसमा प्रतिपक्षी दलको पनि भुमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको उहाँको तर्क छ । श्रमिक दिवसको सन्दर्भमा थापाले संविधानको धारा १७ र ३४ ले प्रत्याभुत गरेका ट्रेड युनियन र सामूहिक सौदाबाजीको अधिकार कसैको सनक वा लहडमा खोसिन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले ट्रेड युनियन आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको स्वीकार गर्दै श्रमिकहरूको हकहितका लागि काँग्रेस प्रतिबद्ध रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी केही समय बोलेनौँ भने त्यो मौनताको बीचमा सत्यको खोजी होला र अरूले बोल्लान् भनेर पर्खिएका थियौँ । तर अब मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखियो, त्यसैले यो व्रत तोड्नुपर्ने आवश्यकता छ । अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग ‘युद्ध अपराधी’ जस्तो व्यवहार गर्न मिल्दैन। कानुनको शासनमा परिणाम जत्तिकै प्रक्रिया पनि महत्वपूर्ण हुन्छ । हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौँ, खबरदारी गर्छौँ र विकल्प पनि सुझाउँछौँ । तर सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस् । हामी नम्र छौँ, तर कमजोर छैनौँ ।’

निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार चलाउने र नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको उल्लेख गर्दै थापाले काँग्रेसले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस