हिमपातले ठाउँठाउँका हवाई उडानहरु अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १८ : ४२
हिमपातले ठाउँठाउँका हवाई उडानहरु अवरुद्ध

काठमाडौँ । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ। 

बिहिबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन्।

हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराइको क्षेत्रमा बाक्लो हुस्सु तुवालोसहित कुइरो लागेपछि उडान हुन् नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्लामा बिहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई यातायातको सेवा प्रभावित भएको हो । 

 हुम्लामा लागि सीता, समिट र तारा एयरले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् । प्रतिकूल मौसमका कारण जिल्लामा बिहीबार खाद्यान्न सामग्री, दैनिक उपभोग्य तरकारीलगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो । 
सीता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको थियो भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामग्री ढुवानी गर्दै आएका थिए । हिमपातले आज हवाई सेवा ठप्प भएको हो । 

प्रतिक्रिया दिनुहोस