पुलिसलाई हराउँदै एपिएफ बन्यो प्रधानमन्त्री कप च्याम्पियन

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १३ : २८
पुलिसलाई हराउँदै एपिएफ बन्यो प्रधानमन्त्री कप च्याम्पियन

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ क्लब च्याम्पियन बनेको हो । 

टियु क्रिकेट मैदानमा एपिएफ क्लबले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको पुलिस क्लब निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाउँदै १३६ रनमै समेटि पुग्यो । पुलिस क्लबका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रन बनाए । त्यस्तै, दिलीप नाथले २३ रन, आरिफ शेखले १२ रन तथा अनिल शाहले १० रन जोडे भने पवन सर्वाफ बोल्ड आउट हुन पुगे । 

बलिङतर्फ एपिएफ क्लबका लागि किशोर महत्तोले ३ विकेट लिए भने अमर रौटेला र दिपक बोहराले समान एकएक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९।५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो  ।

सुरुमा केही खराव प्रदर्शन गरेको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा सुधार आएको थियो । ९औं नम्बरमा ब्याटिङ गर्न आएका अमर रौतेलाले सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै, लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन बनाए । यसअघिका खेलमा चम्किएका आशिफ सेख ९ र प्रदीप ऐरी भने ७ रनमै आउट भएका थिए । 

१० टोली सहभागी प्रतियोगितामा विजेता एपिएफले  पाँच लाख र उपविजेता पुलिसले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस