अध्यागमनमा ‘सेटिङ’ हाकिमलाई ‘स्वविवेक’को अधिकार

पत्रपत्रिकाबाट

मंगलबार, ०४ माघ २०७८, ०८ : १८
अध्यागमनमा ‘सेटिङ’ हाकिमलाई ‘स्वविवेक’को अधिकार

काठमाडौं । भिजिट भिसामा खाडी मुलुक दुबई जाने र जागिर खाने नेपाली अध्यागमन विभागमा ‘स्वविवेक’को अधिकार लिएर बसेका हाकिमको पक्षपातपूर्ण व्यवहारको शिकार भएका छन् । ‘सेटिङ’ मा प्रवेश गर्नेलाई मात्र प्रस्थान अनुमतिको छाप लगाउने काम भएको पीडितहरुको गुनासो छ ।

‘मैले सबै कागजात पूरा गरेको थिएँ तर मलाई प्रस्थान अनुमति दिइएन, उस्तै कागजात बोक्ने साथीले अनुमति पायो, उसले भन्दै थियो– २०–२५ हजारको मुख नहेर, तर मैले पहिला पत्याएको थिइनँ’, पर्वतका कृपलाल जैसीले भन्नुभयो– फ्लाई दुबई जहाजमार्फत ३ बजे दुबई उड्न विमानस्थल पुगेको थिएँ, टीकाटालो गरेर निस्केको लाजैमर्नु भयो । ‘पछि फेरि ऋणपान गरेर २५ हजार रुपियाँ सेटिङवालालाई बुझाएँ, सजिलै छाप लाग्यो ।’ –उहाँको भनाइ छ । उहाँ अहिले दुबईमै हुनुहुन्छ ।

त्यस्तै, मोरङकी तिलरूपा थापा पनि केही दिनअघि भिजिट भिसामा दुबई जान चाहनुहुन्थ्यो, तर अनुमति पाउनुभएन । भिजिटका लागि दुबई सरकारले योग्य ठहर गरे पनि आफ्नै अध्यागमन कार्यालयको नजरमा योग्य बन्नुभएन । तर, थापाले दोहोर्याएर प्रयास गनुभएन, यद्यपि एकपटक अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईलाई भेटेर सबै कागजपत्र देखाउँदै ‘किन अनुमति दिइएन’ भनेर प्रश्न भने गर्नुभयो ।

भट्टराईले अनुमति नदिनुपर्ने कुनै कारण देख्नु भएन । हाकिमले पर्याप्त ठानेको कागजपत्र तल्लो तहका कर्मचारीका लागि अपर्याप्त हुने हदसम्मको ‘स्वविवेक’ को अधिकार सेवाग्राहीका लागि पीडाको विषय बनेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस