नेपालका ७५ प्रतिशत गोही भारतमा

पत्रपत्रिकाबाट

मंगलबार, ०४ माघ २०७८, ०८ : १५
नेपालका ७५ प्रतिशत गोही भारतमा

चितवन । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (विसं २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।

निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव भन्हुछन, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ ।”

यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउछन् ।

“प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उनले भने । ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए ।

यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ । तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन । यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस