दुई सय पाँच गोही राप्ती नदीमा छाडियो

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०८२, ११ : ५१
दुई सय पाँच गोही राप्ती नदीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् । 

गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए । केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही विभिन्न नदीमा छाडिएका छन् । कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदीमा ४१९, राप्ती नदीमा एक हजार ५२५, कालीगण्डकी नदीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ वटा गोही छाडिएका छन् ।

त्यसैगरी बबई नदीमा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको उनले जानकारी दिए । हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही छन् । झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाइने नदीमा राप्ती पर्दछ । गोही छाडिएका नदी किनारमा अण्डा संकलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ । 

तीनै चल्ला हुर्काएर नदीमा छाड्ने गरिएको हो । नदीमा छाडिएका बच्चा न्यून संख्यामा हुर्किएको पाइन्छ भने धेरै बगेर भारत पुग्ने गर्दछन् । कतिपय जालमा परेर र सिकारीको आक्रमणमा पर्ने गर्दछन् । नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस