स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १२ : २७
स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष

बुटवल । कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफैँ रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गर्थ्याे ।

आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड नपाएर भुइँंमा सुत्नुपर्ने अवस्थासमेत थियो ।

तर, अहिले भने अवस्था फेरिएको छ । आफैँ बिरामी रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले पछिल्लो समय स्वरुप फेरेको छ । अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवाप्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्यालले बताए ।

सेवा प्रभावकारी नहुँदा हैरानी खेपेका बिरामी र बिरामीका अफन्तहरूको गुनासोलाई मध्यनजर गरेर व्यवस्थापनको कार्यलाई प्राथमिकता दिएको उनले बताए । ‘अस्पतालको आकस्मिक कक्षमा बेड अभावका कारण एउटै बेडमा तीन जनासमेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । तर, अहिले बेडका साथै चिकित्सक कर्मचारीको ड्युटी व्यवस्थापनलाई जोड दिइएको छ’, उनले भने ।

अस्पतालको आकस्मिक कक्षमा यसअघि  २२ बेड रहेकोमा अहिले भने बेड संख्या ३८ पुर्‍याइएको छ । वातानुकुलित वातावरणमा एसीयुक्त आकस्मिक कक्षमा नाम चलेका निजी अस्पतालका जस्तै सेवा उपलव्ध गराइएको आकस्मिक विभाग प्रमुख अर्यालले बताए ।

आकस्मिक विभागमा  दैनिक नौ जना चिकित्सक, २० जना स्वास्थ्यकर्मी र १० जना नर्सिङ कर्मचारी बिरामीको उपचारमा खटिने गरेका छन् भने ६ जना सहयोगी कर्मचारी छन् । 

अब निकट भविष्यमै प्रत्येक बेडमा अक्सिजन पाइप र सक्सन पाइप सप्लाई गर्ने, कुरुवा कन्ट्रोल कार्ड लागु गर्ने, व्यवस्थित माइनर अप्रेसन कक्षको व्यवस्था लगायतका काम सुरु गरिने अर्यालले बताए ।

अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार आएको बताए । मृगौला रोगीहरूका लागि डाइलोसिस सेवा देखि लिएर थुप्रै नयाँ सेवाहरू अस्पतालमा थपिँदै गएको उनको भनाइ छ । ‘अस्पतालमा कार्यरत चिकित्सकहरूद्वारा निजी क्लिनिकमा बिरामी पठाउने अवैध कामलाई पनि रोकिएको छ,’ ढकालले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कुल बेड संख्या भने ३५० छ । आकस्मिक कक्षको व्यवस्थापनमा सुधार गर्नेदेखि अस्पतालमा नयाँ सेवाहरू थप हुँदै गएको अस्पताल विकास समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस