कोरोना विरुद्धको खोपको समस्या छैन: स्वास्थ्यमन्त्री खतिवडा

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, ११ : ०७
कोरोना विरुद्धको खोपको समस्या छैन: स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । 

समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताएका हुन्  । मन्त्री खतिवडाले कोरोना विरुद्ध खोपको  समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए । 

समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए । उनले भने “बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ । ” उनले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताए । उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ । 
    
सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि  तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसियू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ भने । कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस